15/03/2020
सेल्फ क्वारेन्टाइन के हो ?
को बस्ने ?
१. वैदेशिक यात्रा गरेर नेपाल फर्किएका व्यक्ति।
२. कोरोना भाइरसबाट संक्रमित व्यक्तिको नजिक भएकाले पछिल्लो सम्पर्क भएको मितिले १४ दिन ।
३. कोरोना भाइरसको संक्रमितसँग नजिकिएको शङ्का लागेका व्यक्ति ।
४. चीन, इरान, दक्षिण कोरिया, इटाली, युएई, जापान जस्ता अत्यन्तै जोखिमयुक्त देश हुँदै नेपाल आएका व्यक्ति ।
५. आशङ्का गरिएका व्यक्तिलाई संक्रमणका लक्षण देखा परे प्रत्यक्ष सम्पर्कमा आएका र बिरामीको हेरचाह गर्ने पनि क्वारेन्टाइनमा बस्नुपर्छ । तर, परिवारका कोही सदस्य क्वारेन्टाइनमा बस्दा सबै जना बस्नु पर्दैन ।
कसरी बस्ने ?
१. सकेसम्म सबै सुविधा भएको एउटै कोठामा बस्नुपर्छ । घरका सम्पूर्ण कोठाको उपयोग गरिए संक्रमण देखिएको खण्डमा पूरै घर सफा गर्नुपर्छ ।
२. सिङ्गो घरमा एक्लै क्वारेन्टाइनमा बसे बाहिरी दुनियाँसँग निरन्तर फोन र मेसेज सम्पर्कमा रहनुपर्छ । यदि दीर्घकालीन रोगी भए अस्पताल वा चिकित्सकसँग सोझे फोन सम्पर्कमा रहनुपर्छ ।
३. संक्रमणको आशङ्कामा रगतको जाँच गरेर रिपोर्ट आउँदासम्मलाई घर पठाइएको भए निश्चित कोठामा मास्क लगाएर सकेसम्म परिवारका सदस्यबाट टाढा बस्ने । अलग बाथरुम र शौचालय प्रयोग गर्ने ।
४. घरपालुवा पशुपक्षीबाट टाढा बस्ने (हङकङमा मानिसबाट कुकुरलाई कोभिड—१९ सरेको थियो ।)
५. परिवारका सदस्यभन्दा बाहेकलाई घरमा आउन नदिने ।
६. स्वास्थ्य जाँचका लागि नजिकको अस्पतालमा फोन गरेर सम्पूर्ण जानकारी गराएर मात्र जाने, जसकारण अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षित ढङ्गले उपचार गर्ने तयारीका लागि समय मिल्छ ।
७. लक्षण देखिनासाथ मास्क लगाउने, हाच्छिउँ गर्दा, खोक्दा आफ्नो मुख नाकलाई कपडा वा पेपरले छोप्ने । छोप्दा प्रयोग भएका वस्तुलाई बन्द फोहोर फ्याँक्ने भाँडोमा फाल्ने र २० सेकेन्ड लगाएर मिचेर हात धुने वा ह्यान्ड स्यानिटाइजरले सफा गर्ने ।
८. आफ्ना व्यक्तिगत लत्ताकपडा, भाँडाकुँडा, साबुन आदि अरूलाई चलाउन नदिने । आफूले छोएका घरको ताल्चा, चाबी, बरण्डाको डण्डी, टिभीको रिमोट, मोबाइल, कम्प्युटरको माउस, किबोर्ड आदि राम्रोसँग सफा गर्ने ।
९. जथाभावी नथुक्ने, सिंगान नफाल्ने, फालेको पनि आफैंले सफा गर्ने ।
१०. धेरै जना एकै ठाउँमा क्वारेन्टाइनमा बस्नु परे खुला, धेरै कोठा भएको, हावा आवतजावत हुने ठाउँको प्रयोग गर्ने ।
११ लक्षणहरूबाट विचलित नहुने, लक्षण बढेको खण्डमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।
१२. क्वारेन्टाइनमा रहँदाको अवस्थामा नजिकैको प्रहरी, अस्पताल, रेडक्रस वा अन्य सामाजिक संघसंस्थाको फोन नम्बर सुरक्षित राख्ने ।
आत्मबल बढाउने तरिका
१. परिवारका सदस्यसँग निरन्तर कुराकानी गर्ने । समाचारका लागि आधिकारिक सञ्चारमाध्यम पछ्याउने । सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचार नपढ्ने ।
२. परिवारका कम उमेरका सदस्यलाई सम्भावित संक्रमण विरुद्ध हौसला प्रदान गर्ने । दैनिक क्रियाकलाप सामान्य रूपमा गर्न प्रोत्साहित गर्ने ।
३. साथीभाइ, नातागोतासँग निरन्तर फोन तथा मेसेजमा कुरा गरिरहने ।
४. योग, ध्यान, कसरत दैनिक गर्ने । घरको प्यासेज, छत वा आँगनमा केही समय हिंड्ने र स्वच्छ हावा लिने ।
५. घरमै बसेर अनलाइनबाट गर्न मिल्ने कार्यालयको काम गर्ने ।
६. क्वारेन्टाइनको समयलाई सकेसम्म सदुपयोग गर्ने । जस्तै, पुस्तक पढ्ने, चित्र कोर्ने, वाद्यवादन आदि सिक्ने ।
सेल्फ क्वारेन्टाइनको १४ दिनसम्म कुनै लक्षण नदेखिए पुरानो दैनिकीमा फर्कन सकिन्छ । यदि त्यसका लागि ‘मेडिकल सर्टिफिकेट’ चाहिए अस्पताल वा काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पतालमा सम्पर्क गर्नुपर्छ ।
सेल्फ क्वारेन्टाइनमा रहेको १४ दिनभित्र ज्वरो आए, सास फेर्न अप्ठ्यारो भए, खोकी वा अन्य श्वासप्रश्वास सम्बन्धी समस्या आए स्वास्थ्य संस्था जानुपर्छ । अस्पताल जाँदा अनिवार्य मास्क लगाउनुपर्छ । मास्क नभए नाक–मुख रुमालले छोप्नुपर्छ ।
श्रोत: हाम्रो पात्रों को न्यूज़ बाट (हिमाल ख़बर.कम)
(डॉक्टर रामकृष्ण आचार्यको लेख राम्रो अनी समयसानदर्भिक भयर शेयर गरे)